निर्वाचनबारे गाउंले विश्लेषण | दुर्योधन-बस्नेत | Lekhak

यो लेखक आफन्तसंगको भेटघाटका क्रममा लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको अस्लेवा भन्ने गाउँमा पुगेको छ। वातावरणिय हिसाबले अत्यन्तै स्वच्छ, सफा र प्राकृतिक सुन्दरताले अत्यन्तै मनोरम यो गाउंलाई यतिबेला देशका अन्य गाउँ र सहरलाई जस्तै चुनावी सरगर्मीले रनक्क तताएको छ।

Feb 20, 2026 - 17:01
Feb 20, 2026 - 18:00
 0  15
निर्वाचनबारे गाउंले विश्लेषण | दुर्योधन-बस्नेत | Lekhak

यो लेखक आफन्तसंगको भेटघाटका क्रममा लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको अस्लेवा भन्ने गाउँमा पुगेको छ। वातावरणिय हिसाबले अत्यन्तै स्वच्छ, सफा र प्राकृतिक सुन्दरताले अत्यन्तै मनोरम यो गाउंलाई यतिबेला देशका अन्य गाउँ र सहरलाई जस्तै चुनावी सरगर्मीले रनक्क तताएको छ। घरघरमा, चौतारामा, प्रतिक्षालयमा, यातायातका साधनमा, बस स्टपमा जताततै निर्वाचनका बारेमा चर्चा परिचर्चा गरेको पाइन्छ। अन्य बिषयमा छलफल नै हुंदैन। कुन पार्टीलाई भोट हाल्ने? कसलाई मत दिने? फलानो पार्टीलाई, फलानालाई किन मत दिने, फलानालाई किन नदिने आदित्यादी बिषयमा चर्का चर्की बहस, छलफल हुने गर्दछ। पुराना राजनैतिक दलहरुबाट बिगतमा भए गरेका राम्रा नराम्रा कामहरूको बारेमा, गल्ती, कमीकमजोरीहरुको बारेमा व्यापक विश्लेषण, बहस, छलफल हुने गर्दछन । नयाका बारेमा आंकलन, अनुमान गर्ने गरिन्छ। आ-आफ्ना विचार, सोच, बुझाई अनुसार धारणा ब्यक्त गर्ने गरिन्छ। मन नपरेकालाई नजर अन्दाज गरेर विश्लेषण गरिन्छ। मन परेकालाई चाहिनेभन्दा बढी बढाइ चढाइ गरिन्छ। कोही पुरानाले गरेनन्, नयाँलाई मत दिनुपर्छ भन्ने बिचार ब्यक्त गरिरहेका छन् भने कोही अपरिपक्वताले देशलाई भंड्खारामा पार्न सक्छ भन्ने बिचार ब्यक्त गरिरहेको पाइन्थ्यो। 
यस ठाउँमा भए गरेका विकासका कामहरुको मुल्यांकन गर्दै बहुसंख्यक मतदाताहरु बिगतकै विरासतलाई कायम गर्नुपर्ने विचार व्यक्त गरिरहेका थिए। यद्यपी समग्र देशको सन्दर्भमा भने उनिहरुको मत भिन्न देखिन्थ्यो अर्थात नेतृत्व परिवर्तनको चाहना रहेको पाइन्थ्यो। कोही निर्वाचनको परिणाम पश्चात नेपालमाथि पर्न सक्ने कु-प्रभाबको पनि ख्याल गर्नुपर्ने विचार राखिरहेका थिए। अर्थात निर्वाचनको परिणाम पश्चात विदेशी शक्तिहरूले नेपालमाथिको चलखेल अझै तिब्र वा नसोचेको हुने होकी भन्ने आशंकाहरु पनि उठाइरहेका थिए। आशंका उठाउनु स्वाभाविक पनि थियो किनकी बिगतका विदेशी शक्तिहरूको नेपालप्रतिको अस्वस्थ चलखेल नेपालका लागि प्रत्युत्पादक बनिरहेका थिए। उनिहरु नेपालमा आन्तरिक रुपमा हुने विभिन्न क्रियाकलापहरूलाई माध्यम बनाएर यो वा त्यो कोणबाट नजानिँदो रुपमा नेपालमाथि हस्तक्षेप गर्न चाहिरहेका हुन्छन्। यो तथ्यले प्रमाणित गरेको कुरा हो । गाउँका मतदाताले यो गम्भीर र संवेदनशील विषय वस्तुमाथि चासो राख्नु र कुरा उठान गर्नु भनेको अत्यन्तै महत्वपूर्ण र सकारात्मक पक्ष हो । 
बिगतमा अपेक्षाकृत कामहरु नभएका कारणले बितृष्णा पैदा हुंदा हुंदै, असन्तुष्टि रहंदा रहंदै पनि देशभक्तिलाई केन्द्रमा राखेर निर्वाचन भोलि राष्ट्रका लागि घातक नहोस् भन्ने जुन अत्यन्तै महत्वपूर्ण विचार व्यक्त भएको छ, यो विचारलाई सम्मान गर्नैपर्छ। देशभरिका सबै मतदाताले यही सोचका साथ, यही बुझाईका साथ आफ्नो अमुल्य मतको प्रयोग गर्नु जरुरी छ। नेपाल रहे मात्र हामी रहन्छौं भन्ने कुराको हेक्का राखेर मात्र मतदान गर्नुपर्ने भएको छ। 
लगभग सबै ठाउँमा बिकासका पूर्वाधारहरू तयार भैसकेको कारण गाउँका मतदाताको त्यति ठूलो चाहनाहरू भएको पाइएन । सबैको माग थियो - भ्रष्टाचारको समूल अन्त्य, सु- शासन, शान्ति, समानता, रोजगारीको व्यवस्था, शुलभ शिक्षा, स्वास्थ्य, स्वतन्त्र र स्वाधीन नेपाल । यो आम नेपाली जनताको माग भएकोले पक्कै पनि निर्वाचित सरकारले यी  कुराहरु पुरा गर्ने छ । यसका लागि सही ठाउँमा मत खसालौं ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0