विदेशको पसिना
"विदेशमा पैसा फल्दैन,
मानिस आफैँ बिस्तारै सकिन्छ।"
बिदाइको दिन,
आमाको आँखा ओभानो थिएन,
बुबाको काँध बलियो देखिन्थ्यो,
तर मनभित्र पहाड नै भत्किएको थियो।
छोराले मुस्कान देखायो,
किनकि आँसु देखाउने अधिकार उसलाई थिएन।
ऊ विदेश गयो...
न सपना ठूलो थियो,
न रहर नै थियो।
घरको छानो चुहिन्थ्यो,
बहिनीको पढाइ रोकिएको थियो,
बुबाको औषधि सकिँदै थियो,
आमाले पुरानो सारीमै चाड मनाइरहेकी थिइन्।
त्यसैले...
उसले आफ्नो जवानी बेच्यो।
बिहान घामभन्दा अघि उठ्यो,
रात चन्द्रमाभन्दा पछि सुत्यो।
फलाम बोकेर काँध फुट्यो,
सिमेन्टले हात चिरियो,
तातो घामले छाला पोल्यो,
चिसो हावाले हड्डी नै जमायो।
कसैले सोध्यो पनि भएन—
"तिमी आज थाक्यौ कि?"
उहाँहरूका लागि
ऊ बैंक थियो...
हरेक महिना पैसा पठाउने मेसिन थियो।
तर त्यो पैसासँगै
उसले आफ्ना चाडहरू पठायो,
दशैंको टीका छुटायो,
तिहारको देउसी सुन्न पाएन,
आमाको हातको खाना बिर्सिँदै गयो,
बुबाको कपाल सेतो हुँदै गएको
तस्बिरमै हेर्दै बस्यो।
मोबाइलमा भिडियो कल हुँदा
आमा हाँसिदिनुहुन्थ्यो,
"हामी सबै ठीक छौँ बाबु।"
ऊ पनि हाँसिदिन्थ्यो—
"म पनि धेरै खुसी छु।"
तर...
दुवै पक्षले झूट बोलेका थिए।
रातको कोठामा
चारवटा भित्ताले मात्रै सुन्थे
उसको चुपचाप रोएको आवाज।
साथीहरू बिहे गरिरहेका थिए,
कसैका छोराछोरी जन्मिरहेका थिए,
ऊ भने
अरूको देशमा
आफ्नो समय गाडिरहेको थियो।
उसले कमाएको प्रत्येक रुपैयाँमा
उसको पसिनाको गन्ध थियो,
प्रत्येक नोटमा
घरको सम्झना मिसिएको थियो।
कसैले नयाँ घर देखे,
कसैले नयाँ बाइक,
कसैले सुनका गहना।
तर कसैले देखेन...
उसको हराएको मुस्कान,
छुटेको जवानी,
निद्राविहीन रात,
र मनभित्रको एक्लोपन।
विदेश कमाउन गएकाहरू
धनी भएर फर्किँदैनन् सधैं,
कतिपय
थाकेको शरीर लिएर फर्किन्छन्,
कतिपय
रित्तिएको मन लिएर,
र कतिपय...
काठको बाकसभित्र फर्किन्छन्।
घरमा आउने प्रत्येक रेमिट्यान्स
केवल पैसा होइन,
कसैको अधुरो सपना हो,
कसैको छुटेको जन्मदिन हो,
कसैको नदेखिएको आँसु हो,
र कसैको बिस्तारै सकिँदै गएको जीवन हो।
सलाम छ ती हातहरूलाई,
जसले आफ्ना सपना थन्काएर
परिवारको भविष्य लेखिरहेका छन्।
किनकि...
विदेशमा कमाइने पैसा
नोटले होइन,
पसिनाले छापिएको हुन्छ।
Manage Comments