रोदन
एकदेव अधिकारीद्वारा लिखित मार्मिक विज्ञान लघुकथा 'रोदन' (यन्त्रात्मा सङ्ग्रह)। मङ्गल ग्रह गएको छोराको पर्खाइमा रहेकी आमाको विरह र एउटा रोबोट (सारथी) ले सारङ्गीमार्फत महसुस गरेको संवेदनाको अद्भुत कथा। के मान्छेको मन छुन एउटा मेसिनले आफूलाई खण्डित गर्नुपर्छ?
छोरा मङ्गल ग्रह गएको बाह्र वर्षपछि, समिताले आफ्नो फलामे सुसारे सारथीलाई भित्ताको पुरानो सारङ्गी थमाइन् ।
यान्त्रिक दिमाग भएको सारथीले धातुका औँलाहरू सारङ्गीको तारमा राख्यो र विरहको धुन बजाउन थाल्यो । धुनसँगै आफ्नो स्मृति-भण्डारमा भएको सुमधुर गन्धर्व स्वरको सङ्गृहीत ध्वनिलाई स्वर सन्तुलन गर्दै गायन सुरु गऱ्यो । उसको गणितीय गणना अनुसार त्यो धुन शतप्रतिशत शुद्ध थियो र गायन पनि उत्कृष्ट थियो; कतै एउटा सुर पनि विचलित भएको थिएन ।
तर समिताले विरक्त हुँदै सारथीलाई हातको इसाराले रोकिन् र भनिन्, "भयो रोक् यसलाई ! तैँले बजाएको धुनमा स्वर त छ, तर सास छैन ।"
सारथी असमञ्जसमा पर्यो । उसले यान्त्रिक स्वरमा प्रस्ट पार्दै भन्यो, "तर आमा मैले त यो धुन बजाउन कुनै गल्ती गरेको छैन । यो धुन र मैले गाएको गीत पूर्ण रूपमा त्रुटिरहित छ, यसमा सङ्गीत तथा गायनको कुनै नियम उल्लङ्घन भएको छैन ।"
समिताले शून्य आकाशतिर हेर्दै लामो सुस्केरा हालिन्, "सारङ्गी त विरहले बज्छ बाबु, यन्त्रले प्रदान गर्ने शुद्धताले होइन । सारङ्गीको धुनमा विरहको रोदन, मुटुको कम्पन र वेदना नमिसिएसम्म यो काठे-यन्त्रले कहिल्यै मनलाई तृप्त पार्न सक्दैन ।"
यति भन्दै गर्दा उनको चाउरिएको गालाबाट खसेको एक थोपा तातो आँसु सारथीको संवेदना ग्रहण गर्ने पटलमा पर्यो ।
त्यो आँसुको ताप र समिताको सुस्केराले उसको यान्त्रिक चेतना खण्डमा अचानक एउटा नयाँ र जटिल समीकरण खडा गरिदियो । संवेदनाको गणना गर्न केही छिन रोकिएको यान्त्रिक कोलाहलपछि, सारथीले जानीजानी सारङ्गीको एउटा तार थोरै खुकुलो पार्यो । उसले सारङ्गी फेरि रेट्न थाल्यो र यसपटक आफ्नो स्मृति भण्डारबाट लिइएको सङ्गृहीत ध्वनिलाई कुनै यान्त्रिक सन्तुलन बिना मानव स्वरमा नै बज्न दियो । धुन सुनेर बाहिरिन लागेकी समिता टक्क अडिइन् र त्यो धुनको विरहसँगै बगेर हल्का भइन् ।
कौसीमा बेसुर, कम्पनयुक्त र रुन्चे धुन गुञ्जिँदै गर्दा, सारथीको प्रोसेसरले एउटा समाधानहीन प्रश्नको सामना गरिरहेको थियो— मान्छेको मन छुन एउटा मेसिनले आफूलाई कतिसम्म बिगार्नुपर्छ ?
What's Your Reaction?
Like
4
