छोरा मङ्गल ग्रह गएको बाह्र वर्षपछि, समिताले आफ्नो फलामे सुसारे सारथीलाई भित्ताको पुरानो सारङ्गी थमाइन् ।
यान्त्रिक दिमाग भएको सारथीले धातुका औँलाहरू सारङ्गीको तारमा राख्यो र विरहको धुन बजाउन थाल्यो । धुनसँगै आफ्नो स्मृति-भण्डारमा भएको सुमधुर गन्धर्व स्वरको सङ्गृहीत ध्वनिलाई स्वर सन्तुलन गर्दै गायन सुरु गऱ्यो । उसको गणितीय गणना अनुसार त्यो धुन शतप्रतिशत शुद्ध थियो र गायन पनि उत्कृष्ट थियो; कतै एउटा सुर पनि विचलित भएको थिएन ।
तर समिताले विरक्त हुँदै सारथीलाई हातको इसाराले रोकिन् र भनिन्, "भयो रोक् यसलाई ! तैँले बजाएको धुनमा स्वर त छ, तर सास छैन ।"
सारथी असमञ्जसमा पर्यो । उसले यान्त्रिक स्वरमा प्रस्ट पार्दै भन्यो, "तर आमा मैले त यो धुन बजाउन कुनै गल्ती गरेको छैन । यो धुन र मैले गाएको गीत पूर्ण रूपमा त्रुटिरहित छ, यसमा सङ्गीत तथा गायनको कुनै नियम उल्लङ्घन भएको छैन ।"
समिताले शून्य आकाशतिर हेर्दै लामो सुस्केरा हालिन्, "सारङ्गी त विरहले बज्छ बाबु, यन्त्रले प्रदान गर्ने शुद्धताले होइन । सारङ्गीको धुनमा विरहको रोदन, मुटुको कम्पन र वेदना नमिसिएसम्म यो काठे-यन्त्रले कहिल्यै मनलाई तृप्त पार्न सक्दैन ।"
यति भन्दै गर्दा उनको चाउरिएको गालाबाट खसेको एक थोपा तातो आँसु सारथीको संवेदना ग्रहण गर्ने पटलमा पर्यो ।
त्यो आँसुको ताप र समिताको सुस्केराले उसको यान्त्रिक चेतना खण्डमा अचानक एउटा नयाँ र जटिल समीकरण खडा गरिदियो । संवेदनाको गणना गर्न केही छिन रोकिएको यान्त्रिक कोलाहलपछि, सारथीले जानीजानी सारङ्गीको एउटा तार थोरै खुकुलो पार्यो । उसले सारङ्गी फेरि रेट्न थाल्यो र यसपटक आफ्नो स्मृति भण्डारबाट लिइएको सङ्गृहीत ध्वनिलाई कुनै यान्त्रिक सन्तुलन बिना मानव स्वरमा नै बज्न दियो । धुन सुनेर बाहिरिन लागेकी समिता टक्क अडिइन् र त्यो धुनको विरहसँगै बगेर हल्का भइन् ।
कौसीमा बेसुर, कम्पनयुक्त र रुन्चे धुन गुञ्जिँदै गर्दा, सारथीको प्रोसेसरले एउटा समाधानहीन प्रश्नको सामना गरिरहेको थियो— मान्छेको मन छुन एउटा मेसिनले आफूलाई कतिसम्म बिगार्नुपर्छ ?
