बलेको दीप निभ्यो आज, ओइलाएका फूलहरू छन्
रुझेका परेलीभित्र, लुकेका ती भूलहरू छन् ।
नदुख्ने घाउ हुन्न भन्थे, यहाँ त मुटु नै च्यातियो
किनारा खोज्दा खोज्दै, भत्किएका कूलहरू छन् ।
झरी झैं बर्सिए आँसु, निथ्रुक्कै भिज्यो यो सिउँदो
पग्लेका यादका ढिक्का, नमेटिने धूलहरू छन् ।
खुसीको महल सोच्दा, चिहान पो बनेछ जिन्दगी
हाँसो त केवल मकुन्डो, भित्र त शूलहरू छन् ।
नदीझैं बग्छ यो पीडा, कहिले नथामिने गरी
बगरमा भेटिएका त, विवशताका हूलहरू छन् ।
