फर्किन नपाएका मौका | कविता | Prakash Nyaupane

मौकाले ढोका ढकढकाइदिँदा मात्र हिम्मतले काँध थापिदिएको भए त जीवनको रीत नीयतिका यी सबै घाउ सपनाले भरेर निको पारिदिन्थे होला

फर्किन नपाएका मौका | कविता | Prakash Nyaupane

मौकाले ढोका ढकढकाइदिँदा मात्र
हिम्मतले काँध थापिदिएको भए त
जीवनको रीत नीयतिका यी सबै घाउ
सपनाले भरेर निको पारिदिन्थे होला

हिजोका अधुरा सपना हरु
आज फेरि मनको चौतारीमा फुल्थे होला
भुल्न खोज्दै हिँडेका ती पीडाका बाटा हरु
आशाले फेरि नयाँ दिशा देखाइदिनेथे होला


यदि समयले दिएका ती चोटहरू
 सम्झनाले होइन मुस्कानले धुने मौका दिन्थ्यो भने  
यो मन पनि अँध्यारोबाट टाढा  
आफ्नै प्रकाशमा एकछिन त हिरा झै चम्किन्थ्यो होला


यदि कसैले अञ्जुली भरि सान्त्वना दिएर
थाकेको मनको ढुङ्गा हटाइदिएको भए
बितेका यी काला बादलहरू पनि
फेरि एकदिन उज्यालै भएर टल्किन्थे होला 


यदि मन भित्र तड्पिएर बसेका कुरा
कसैले चुपचाप बुझिदिएको भए 
मनले लुकाएर राखेका धेरै कुरा 
धाराको पानी जस्तै बगेर हलुका हुन्थे होला


जति पटक भत्किएर उभिन खोजे पनि  
थोरै माया अनि थोरै बलले उठाइदिएको भए  
जीवनले तमाम दुःख सहे पनि 
मनको गहिराइमा फेरि उज्यालो बल्थ्यो होला ।।

20